बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत

शुक्रबार, जेष्ठ २९ २०८३

काठमाडाैं । फिफा विश्वकप–२०२६ मा दक्षिण कोरियाले विजयी सुरुआत गरेको छ। समूह ‘ए’ अन्तर्गत शुक्रबार बिहान मेक्सिकोको ग्वाडालजारास्थित रंगशालामा भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–० गोलअन्तरले पराजित गरेको हो।

दक्षिण कोरियाको जितमा दोस्रो हाफमा मैदान प्रवेश गरेका ओ ह्युङ क्यु नायक बने। कप्तान ह्युङ–मिन सनको स्थानमा ६९औँ मिनेटमा मैदान छिरेका उनले खेलमा प्रभावशाली प्रदर्शन गर्दै टोलीका लागि महत्वपूर्ण गोल गरे।

पहिलो हाफभर खेलमा दबाब बनाए पनि दक्षिण कोरियाले गोल गर्न सकेन। त्यसपछि ५९औँ मिनेटमा चेक रिपब्लिकका लाडिस्लाव क्रेज्सीले कर्नरबाट आएको बललाई आकर्षक हेडमार्फत जाली चुमाउँदै टोलीलाई अग्रता दिलाएका थिए।

तर, चेकको अग्रता लामो समय टिक्न सकेन। ६७औँ मिनेटमा दक्षिण कोरियाका ह्वाङ इन बियोमले विपक्षी रक्षापंक्ति चिर्दै उत्कृष्ट गोल गरेपछि खेल बराबरीमा आएको थियो।

त्यसपछि मैदान प्रवेश गरेको ११ मिनेटमै ओ ह्युङ क्युले निर्णायक गोल गर्दै दक्षिण कोरियाको जित सुनिश्चित गरे।

खेलभर दक्षिण कोरियाले आक्रामक प्रदर्शन गर्दै १५ पटक गोल प्रयास गरेको थियो भने चेक रिपब्लिकले ८ पटक प्रहार गरेको थियो।

यस जितसँगै दक्षिण कोरियाले प्रतियोगितामा सुखद सुरुआत गरेको छ। दक्षिण कोरियाले आफ्नो दोस्रो खेल जुन १९ मा आयोजक मेक्सिकोसँग खेल्नेछ।