काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक राष्ट्र मेक्सिकोले प्रभावशाली प्रदर्शन गर्दै दक्षिण अफ्रिकामाथि २–० को सहज जित दर्ता गरेको छ।
मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका रंगशालामा खचाखच दर्शकमाझ सम्पन्न खेलमा घरेलु टोलीका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे। विश्वकप इतिहासमा तीन संस्करणको उद्घाटन खेल आयोजना गर्ने पहिलो रंगशाला बनेको एज्टेकामा भएको प्रतिस्पर्धा तीन रातो कार्डका कारण पनि चर्चित रह्यो।
खेलको नवौं मिनेटमै जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए। दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सबाट आएको बल डिफेन्सले नियन्त्रण गर्न नसक्दा त्यसको फाइदा उठाउँदै क्विनोनेसले गोल गरेका हुन्। एरिक लिराको पासलाई उनले सहज रूपमा जाली चुमाएका थिए। पहिलो हाफको ४२औँ मिनेटमा उनको अर्को प्रहार भने गोलपोस्टमा लागेर फर्किएको थियो।
दोस्रो हाफमा दक्षिण अफ्रिकाको अवस्था झन् कमजोर बन्यो। ४९औँ मिनेटमा विपक्षी खेलाडीलाई लडाएपछि स्फेफेलो सिथोलेले रातो कार्ड पाएर मैदान छाडे। त्यसपछि १० खेलाडीमा सीमित दक्षिण अफ्रिकामाथि मेक्सिकोले दबाब बढायो।
यसको फाइदा उठाउँदै ६७औँ मिनेटमा राउल जिमेनेजले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। खेलको ८४औँ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि टोली ९ खेलाडीमा झर्यो।
खेलको इन्जुरी समयमा मेक्सिकोका डिफेन्डर सेजार मोन्टेसले पनि रातो कार्ड पाएर मैदान छाडे। यससँगै उद्घाटन खेलमा कुल तीन खेलाडीले रातो कार्ड बेहोरे।
यसै खेलमार्फत मेक्सिकोका युवा स्टार गिल्बर्टो मोराले विश्वकप डेब्यु गर्दै नयाँ कीर्तिमान कायम गरे। उनी विश्वकप २०२६ का सबैभन्दा कान्छा खेलाडी बनेका छन् भने मेक्सिको तथा उत्तर अमेरिकी क्षेत्रबाट विश्वकप खेल्ने सबैभन्दा कम उमेरका फुटबलरको कीर्तिमानसमेत बनाएका छन्।
यो जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले महत्वपूर्ण ३ अंक जोडेको छ र नकआउट चरणको यात्रातर्फ बलियो सुरुआत गरेको छ। पराजित दक्षिण अफ्रिकामाथि भने सुरुदेखि नै दबाब बढेको छ। समूहको अर्को खेलमा चेक गणतन्त्र र दक्षिण कोरिया आमनेसामने हुनेछन्।