काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
सिंगा ओभल मैदानमा आइतबार बिहान सम्पन्न खेलमा ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो।
नेपालको जितमा लोकेश बमले अविजित ४४ रनको उत्कृष्ट योगदान दिए। कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे। कुशल भुर्तेलले २० रन बनाए भने आसिफ शेखले १ रन जोडे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा अलआउट भएको थियो। ओमानका कप्तान सुफिया मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबेर अली अकबरले २२ रनको योगदान दिए।
नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट हात पारे। शाहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान १–१ विकेट लिए।
यस जितसँगै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको छ। उपाधिका लागि नेपालले हङकङ र मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो १२:१५ बजे सुरु हुने तालिका छ।
नेपालसहित सेमिफाइनलमा पुगेका चारवटै टोलीले भने आगामी एसियन गेम्सका लागि छनोट सुनिश्चित गरिसकेका छन्।