बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एसियन गेम्स छनोटको सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै

आइतबार, जेष्ठ २४ २०८३

काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। सिंगापुरमा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ।

समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको नेपाल उत्कृष्ट लयमा रहेको छ। समूह चरणमा नेपालले चीनलाई २२१ रन र मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गर्दै उपाधि दाबेदारको रूपमा आफूलाई स्थापित गरेको थियो।

समूह ‘बी’ को उपविजेता बनेर अन्तिम चारमा पुगेको ओमान पनि बलियो टोलीका रूपमा रहेको छ। यद्यपि लगातार प्रभावशाली प्रदर्शन गरिरहेको नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रने तयारीमा छ।

यस प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चारै टोलीले आगामी एसियन गेम्समा सहभागिता सुनिश्चित गरिसकेका छन्। समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट ओमान र हङकङले एसियन गेम्सको टिकट पक्का गरेका हुन्।

आजै हुने दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता हङकङ र समूह ‘ए’ को उपविजेता मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो १२:१५ बजे सुरु हुने तालिका छ।

नेपालको लक्ष्य आज ओमानलाई पराजित गर्दै फाइनलमा स्थान बनाउने र छनोट प्रतियोगिताको उपाधिनजिक पुग्ने रहेको छ।