काठमाडौं । एसीसी महिला प्रिमियर कप अन्तर्गत दोस्रो खेलमा नेपालले भुटानलाई जितका लागि ११४ रनको लक्ष्य दिएको छ।
मलेसियाको क्वालालम्पुरस्थित कोलेज तुएन्कु जाफेर ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको हो।
नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ रन बनाइन् भने रुबिना क्षेत्रीले २४ रनको योगदान दिइन्। ६७ रनमा ७ विकेट गुमाएर दबाबमा परेको नेपालका लागि सीता र रुबिनाले आठौं विकेटका लागि ४० रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ उकासेका थिए।
यसैगरी सोनी पाख्रिनले १३ रन र सम्झना खड्काले १० रन जोडिन्। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
भुटानका लागि सोनाम र छिरिङ जाङ्ग्मोले समान ३–३ विकेट लिए भने अन्जु गुरुङले २ विकेट हात पारिन्।
अब भुटानले प्रतियोगितामा जित हासिल गर्न २० ओभरमा ११४ रन बनाउनुपर्नेछ।