बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

साफ महिला च्याम्पियनसिप : सेमिफाइनलमा आज नेपाल र बंगलादेश भिड्दै

बुधबार, जेष्ठ २० २०८३

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत आज हुने सेमिफाइनलमा नेपालले बंगलादेशको सामना गर्दैछ। उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यसहित नेपाली टोली मैदान उत्रिनेछ।

भारतको गोवामा जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेताका रूपमा सेमिफाइनल पुगेको हो। समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई २–० गोलले पराजित गर्दै शतप्रतिशत नतिजासहित अन्तिम चारमा स्थान बनाएको थियो।

पण्डित जवाहरलाल नेहरू रंगशालामा सम्पन्न उक्त खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा गोल गरिन् भने कप्तान रेनुका नगरकोटीले ६०औँ मिनेटमा अर्को गोल थपेकी थिइन्।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई १–० गोलले हराएको थियो। दुई खेलबाट ६ अंक जोडेको नेपाल समूहको शीर्ष स्थानमा रह्यो। समूह ‘ए’ मा नेपाल, भुटान र श्रीलंका थिए भने समूह ‘बी’ मा आयोजक भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए।

साफ महिला च्याम्पियनसिपको इतिहासमा नेपाल पटक–पटक फाइनल पुगे पनि उपाधि जित्न भने सफल भएको छैन। यसपटक पहिलो पटक ट्रफी उचाल्ने लक्ष्यसहित नेपाली टोली प्रतियोगितामा सहभागी भएको हो।

नेपाल र बंगलादेशबीचको सेमिफाइनल खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण ‘डीजीओ’ एपमार्फत हेर्न सकिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।