काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत नेपाल आज इन्डोनेसियासँग खेल्दै लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुग्ने लक्ष्यमा छ ।
खेल मलेसियाको बायोमास ओभलमा नेपाली समयअनुसार बिहान ११:४५ बजे सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।
इन्डोनेसिया पनि आजको खेल जित्दै सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्ने योजनामा मैदान उत्रिनेछ । यदि इन्डोनेसिया विजयी भए समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो नेट रनरेटका आधारमा लाग्नेछ ।
इन्डोनेसियाले आफ्नो पहिलो खेलमा चीनसँग तीन विकेटको हार बेहोरेको थियो । समूह ‘बी’ मा नेपाल र चीन दुवै दुई–दुई अंकसहित शीर्ष स्थानमा रहेका छन् भने इन्डोनेसियाले हालसम्म अंक जोड्न सकेको छैन ।
नेपाल र इन्डोनेसियाबीच करिब सात वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । महिला टी–२० अन्तर्राष्ट्रियमा यी दुई टोलीबीच हालसम्म एकपटक मात्र भेट भएको छ, जसमा सन् २०१९ मा नेपालले ९२ रनको फराकिलो जित निकालेको थियो ।