काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलहरू आज हुँदैछन् ।
घरेलु टोली नेपालले साविक विजेता इरानसँग प्रतिस्पर्धा गर्नेछ भने अर्को सेमिफाइनलमा भारत र काजखस्तान आमनेसामने हुनेछन् ।
आठ टोली सहभागी प्रतियोगितामा भारत र नेपाल समूह ‘ए’ को विजेता तथा उपविजेता बनेर अन्तिम चारमा पुगेका हुन् । यस्तै इरान र काजखस्तान समूह ‘बी’ को विजेता र उपविजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।
पहिलो सेमिफाइनलमा समूह ‘ए’ विजेता भारतले समूह ‘बी’ उपविजेता काजखस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने उक्त खेल दिउँसो २:३० बजे सुरु हुनेछ । भारतले सन् २०२४ मा काठमाडौंमै सम्पन्न प्रतियोगिताको पहिलो संस्करणको उपाधि जितेको थियो । काजखस्तान भने प्रतियोगितामा सहभागी टोलीमध्ये सबैभन्दा उच्च वरीयतामा रहेको टोली हो ।
भारत समूह चरणमा अपराजित रहँदै तीनवटै खेल जितेर सेमिफाइनल पुगेको हो । काजखस्तानले भने समूह चरणमा दुई जित र एक हार व्यहोरेको थियो ।
दोस्रो सेमिफाइनलमा घरेलु टोली नेपालले समूह ‘बी’ विजेता इरानको सामना गर्नेछ । नेपाल र इरानबीचको खेल साँझ ५ बजे सोही कभर्डहलमा हुनेछ ।
इरान समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै तीनवटै खेल सोझो सेटमा जितेर सेमिफाइनलमा पुगेको हो । नेपाल भने समूह ‘ए’ को उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको हो ।