काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र माल्दिभ्सबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स टेलिभिजनबाट गरिनेछ ।
नेपालले समूह चरणमा हालसम्म दुई खेल खेल्दै एक जित र एक हार बेहोरेको छ । चार अंकसहित नेपाल समूहको दोस्रो स्थानमा रहेको छ । यसअघि लगातार दुई खेल गुमाएको माल्दिभ्स भने प्रतियोगिताको समूह चरणबाट बाहिरिसकेको छ । तुलनात्मक रूपमा कमजोर मानिएको माल्दिभ्सलाई हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्य नेपालसँग छ ।
नेपालले पहिलो खेलमा भारतसँग पाँच सेटसम्म पुगेको प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेको थियो । दोस्रो खेलमा भने किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै नेपालको अन्तिम चार पुग्ने सम्भावना बलियो बनेको हो ।
समूहमा भारत पाँच अंकसहित शीर्ष स्थानमा छ भने किर्गिस्तान तीन अंकसहित तेस्रो स्थानमा रहेको छ । नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउन सके सात अंक पुग्नेछ र सेमिफाइनल पुग्न अर्को खेलको नतिजा पर्खिनुपर्ने अवस्था रहने छैन ।
नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा रहेको नेपाली टोलीमा यसपटक युवा खेलाडीको बाहुल्य छ । टोलीमा समावेश ६ नयाँ खेलाडीमध्ये ५ जनाले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन् ।
आजै समूह ‘बी’ अन्तर्गत मध्यान्ह १२ बजे इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो साढे २ बजे काजाखस्तान र बंगलादेश आमनेसामने हुनेछन् ।