बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेपालद्वारा मलेसिया दुई विकेटले पराजित

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टि–२० अन्तरराष्ट्रिय अभ्यास खेलमा दुई विकेटले पराजित गरेको छ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले ६८ रनको सामान्य लक्ष्य १७.३ ओभरमा आठ विकेट गुमाउँदै पूरा गरेको हो।

नेपालको जितमा सम्झना खड्काले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ३२ रन बनाइन्। उनले ३९ बलमा दुई चौकाको मद्दतमा ३२ रन जोडिन्। रुबी पोद्दारले १५ रनको योगदान दिँदा कविता जोशीले ६ रन बनाइन्।

बलिङतर्फ मलेसियाकी नूर कलिसाले तीन विकेट लिइन् भने आइसा एलिसा र एल्सा हन्टरले समान दुई–दुई विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा सबै विकेट गुमाउँदै ६७ रनमा समेटिएको थियो। मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन्। कप्तान मास एलिसाले ८ रन जोड्दा माहिरा इजाती र एर्दिना बेलले समान ७–७ रन बनाए।

नेपालका लागि पूजा महतोले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिइन्। रिया शर्मा र मनिषा उपाध्यायले समान दुई–दुई विकेट लिए भने कविता कुँवर र सीता रानामगरले एक–एक विकेट हात पारे।

एसियन छनोट तथा एसीसी प्रिमियर कपको तयारीका लागि मलेसिया पुगेको नेपाली टोलीले घरेलु टोलीसँग दुई अभ्यास खेल खेल्ने तालिका रहेको छ। नेपाल र मलेसियाबीचको दोस्रो अभ्यास खेल जेठ ८ गते हुनेछ।