काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदैछ । घरेलु टोली नेपालले पहिलो खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दै सिरिजको सुरुवात गर्नेछ ।
नेपाल र स्कटल्याण्डबीचको खेल बिहान ९ः३० बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।
यसअघि घरेलु मैदानमै भएको नेपाल, यूएई र ओमान सम्मिलित सिरिज नेपालका लागि उत्साहजनक रह्यो । नेपालले चार खेलमध्ये तीनमा जित हात पारेको थियो । यूएईलाई ३७ रनले हराएर सिरिज सुरु गरेको नेपाल दोस्रो खेलमा ओमानसँग डिएलएस मेथडमा १०२ रनले पराजित भएको थियो । त्यसपछि नेपालले यूएईलाई ६ रन तथा ओमानलाई ८१ रनले हराएको थियो ।
नेपाल ‘ए’ टोलीले हालै अमेरिका र स्कटल्याण्डविरुद्धको त्रिकोणात्मक सिरिज क्लिन स्वीप गरेपछि राष्ट्रिय टोलीको मनोबल पनि उच्च बनेको छ ।
यस सिरिजका लागि घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका ईशान पाण्डे सात वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । बसिर अहमदको स्थानमा टोलीमा समावेश गरिएका पाण्डे यसअघि सन् २०१९ मा सिंगापुरमा जिम्बाबेविरुद्धको टी–२० सिरिजका लागि टोलीमा परेका थिए ।
नेपाली टोलीमा कप्तान राेहित पाैडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरि, कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आशिफ शेख, ईशान पाण्डे, गुलशन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी, नन्दन यादव, अर्जुन कुमाल र करण केसी रहेका छन् ।
नेपालले पछिल्ला केही सिरिजमा मिश्रित नतिजा निकालेको छ । गत जुनमा स्कटल्याण्डमा भएको सिरिजमा नेपालले चार खेलमध्ये तीन जित्दै ६ अंक जोडेको थियो । त्यसक्रममा नेपालले स्कटल्याण्डलाई एक खेलमा हराएको थियो भने अर्को खेल अन्तिम बलमा दुई रनले गुमाएको थियो ।
अंकतालिकामा अमेरिका शीर्ष स्थानमा रहेको छ । अमेरिकाले २४ खेलबाट १८ जितसहित ३६ अंक जोडेको छ । २८ खेलबाट ३४ अंक जोडेको स्कटल्याण्ड दोस्रो स्थानमा छ । नेपाल भने २४ खेलबाट १८ अंकसहित सातौं स्थानमा रहेको छ ।