बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सामाजिक सञ्जालका सूचना आधिकारिक हो कि होइन भन्ने पहिचान गर्न आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

आइतबार, बैशाख ६ २०८३

नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिने सूचनाको सत्यता र स्रोतबारे सचेत हुन आवश्यक रहेको बताएका छन् ।

नुवाकोटको लिखु गाउँपालिका–६ छहरे बजारमा स्थानीयसँगको भेटघाटका क्रममा उनले हाल सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने तयारी गरिरहेको भन्ने सूचना पूर्ण रूपमा भ्रामक र कपोलकल्पित रहेको स्पष्ट पारे ।

मन्त्री तिमिल्सिनाले यस्ता गलत सूचनाले सरकारप्रति अनावश्यक अविश्वास सिर्जना गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता सामग्रीप्रति सचेत रहन आग्रह गरे । उनले यस्ता सूचना गलत नियतका साथ फैलाइएको हुन सक्ने आशंका पनि व्यक्त गरे ।

उनले नागरिकलाई कुनै पनि सूचना शेयर गर्नु अघि त्यसको स्रोत र आधिकारिकता जाँच गर्न आग्रह गर्दै भने, “पुष्टि नभएका सूचना विश्वास गर्नु र फैलाउनु हाम्रो जिम्मेवारी होइन, सचेत नागरिकले पहिला सत्यता जाँच्नुपर्छ।”

सञ्चारमन्त्री तिमिल्सिनाले सरकार नागरिकको करबाट संकलित स्रोतसाधनको सदुपयोग गर्न प्रतिबद्ध रहेको बताउँदै अनियमितता वा दुरुपयोग देखिएमा नागरिकले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

उनले वर्तमान सरकार शून्य सहनशीलताको नीतिमा अघि बढिरहेको उल्लेख गर्दै कुनै पनि प्रकारको अनियमितता वा पदको दुरुपयोग सहन नहुने बताए । प्रश्न उठ्ने बित्तिकै छानबिन र आवश्यक कारबाही अघि बढाइने नीति सरकारले अपनाएको उनको भनाइ थियो ।

उनका अनुसार सरकारको प्राथमिकता नागरिकको जीवनस्तर सुधार, सुशासन र पूर्वाधार विकास हो । विगतमा अपेक्षित रूपमा काम हुन नसकेका क्षेत्रमा अब परिणाममुखी काम गर्ने समय आएको उनले बताए ।

“बोलेर होइन, काम गरेर देखाउने हाम्रो लक्ष्य हो,” मन्त्री तिमिल्सिनाले भने, “विकास क्रमिक प्रक्रिया हो, तत्काल चमत्कारको अपेक्षा गर्नु हुँदैन।”

उनले गाउँगाउँ पुगेर नागरिकको प्रत्यक्ष आवाज सुन्ने र त्यसकै आधारमा नीति तथा कार्यक्रम निर्माण गर्ने सरकारको प्राथमिकता रहेको पनि बताए । साथै, विगत २० वर्षमा पूरा हुन नसकेका विकासका काम आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित सरकार अघि बढिरहेको उनको भनाइ छ ।