बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

वर्षाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध, सवारी ‘होल्ड’

आइतबार, बैशाख ६ २०८३

काभ्रेपलाञ्चोक। वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका–कटुञ्जे र रोशी गाउँपालिकाको मङ्गलटार खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार उक्त सडकखण्डका विभिन्न स्थानमा निर्माण गरिएका अस्थायी डाइभर्सन बगाएपछि यातायात ठप्प भएको हो ।

प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार वर्षासँगै रोशी खोलाको पानीको बहाव बढेपछि डाइभर्सन बगाएको हो । मर्मत कार्य सुरु भए पनि यातायात सुचारु गर्न केही समय लाग्ने उनले बताए ।

गत वर्षको बाढीपहिरोले रोशी र सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएको थियो । त्यसपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको थियो । हालै पनि चैत महिनामा थप चार किलोमिटर सडक बगाएपछि पुनः डाइभर्सन बनाइएको थियो ।

सडक अवरुद्ध भएपछि सवारीसाधनलाई धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा ‘होल्ड’ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले यात्रुहरूलाई यात्रा अघि सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ । साथै अर्को सूचना नआएसम्म उक्त खण्ड प्रयोग नगर्न पनि आग्रह गरिएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार सो क्षेत्रमा स्थायी सडक निर्माण कार्य भने जारी छ