बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर आगामी साता नेपाल आउने

शनिबार, बैशाख ५ २०८३

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर आगामी साता काठमाडौं आउने भएका छन्। बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित उनी सोमबार नेपाल आउन लागेको बताइएको छ।

काठमाडौं बसाइका क्रममा कपुरले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने तथा सरकारका केही मन्त्रीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको स्रोतहरूले जनाएका छन्।

भारतीय मूलका कपुरलाई गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए। यसअघि उक्त जिम्मेवारी डोनाल्ड लुले सम्हाल्दै आएका थिए।

वाशिङ्टन डीसीस्थित नेपाली दूतावासका एक कूटनीतिज्ञ र परराष्ट्र मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै द काठमाडौं पोस्टले जनाएअनुसार कपुरको नेपाल भ्रमण तीन दिनको हुनेछ। उनी वाशिङ्टनबाट टर्किस एयरलाइन्समार्फत काठमाडौं आउने र बुधबार फर्किने कार्यक्रम रहेको बताइएको छ।

यद्यपि भ्रमणबारे औपचारिक घोषणा भने भइसकेको छैन। परराष्ट्र मन्त्रालयले पनि यसबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।