बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

सूर्य दर्शन सहकारीको पीडित भनिएका कृष्ण जैसी आफै सहकारी ठगीमा संलग्न

सोमबार, चैत्र ९ २०८२

पोखराको सूर्य दर्शन सहकारीको पीडित भनिएका कृष्ण जैसी आफै सहकारी ठगीमा संलग्न भएको पाइएको छ ।

धनुष सहकारी ठगी प्रकरणमा संलग्न देखिएका उनलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।

जैसीले निर्वाचन अघि पोखरामा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा कास्की क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी रास्वपाकी बिना गुरुङलाई ८० हजारको बिल बुझाएका थिए ।

रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट लिएको पैसा फिर्ता नगरेको कारण आफ्ना बालबच्चालाई विद्यालयले निष्कासन गर्न लागेको भन्दै उनले गुरुङलाई बिल बुझाएका हुन् ।

त्यतिबेला धेरैले उनीप्रति सहानुभूति व्यक्त गर्दै प्रशंसा समेत गरेका थिए ।

तर उनै जैसी भने आफै सहकारी ठगीमा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले सहकारीका पदाधिकारीसँग मिलेमतो गरेर झण्डै १२ करोड अपचलन गरेको पाइएको हो ।

आज उनलाई पोखराबाट नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रमुख (एसपी) नविन कार्कीले जानकारी दिए ।

उनका अनुसार सहकारी रजिष्ट्रारका कार्यालयले जैसीसहित धनुष सहकारीका पदाधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

सोही बमोजिम उनी समातिएका हुन् । एसपी कार्कीले जन भने, ‘यो सहकारी ठगीमा २० जनाभन्दा बढीको संलग्नता देखिन्छ, केहीलाई पक्राउ गरिसक्यौँ, केहीको खोजी भइरहेको छ ।’