काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झण्डै दुईतिहाइको जनादेश प्राप्त गरेपछि नयाँ सरकार गठनको विषयमा पार्टीभित्र छलफल सुरु भएको छ।
मंगलबार प्रत्यक्ष तथा समानुपातिकतर्फको सम्पूर्ण मतगणना सकिएसँगै रास्वपा प्रत्यक्ष र समानुपातिक दुवैतर्फको मत परिणाम जोड्दा झण्डै दुईतिहाइ नजिक पुगेको बताइएको छ। निर्वाचन परिणाम सार्वजनिक भएसँगै सरकार गठनको विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीच निरन्तर छलफल भइरहेको पार्टीका नेताहरूले बताएका छन्।
निर्वाचन परिणामले धेरैलाई चकित पार्नेगरी सफलता हासिल गरेको रास्वपाले पूर्वसहमति अनुसार वरिष्ठ नेता बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ।
यसअघि पुस १३ गते रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेनबीच सात बुँदे सहमति भएको थियो। उक्त सहमतिका बुँदामध्ये नम्बर ४ मा पार्टी सभापति रवि रहने र प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह रहने उल्लेख गरिएको थियो।
सहमतिको उक्त बुँदामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह रहने’ उल्लेख गरिएको छ।
तर निर्वाचनमा विजय हासिल गरेपछि सभापति रवि लामिछाने र उपसभापति डोलप्रसाद अर्यालले सार्वजनिक रूपमा दिएको अभिव्यक्तिले भने उक्त सहमति कार्यान्वयन हुने–नहुनेबारे विभिन्न आशंका उत्पन्न भएको छ।
काठमाडौं–९ बाट निर्वाचित उपसभापति अर्यालले सहमति कार्यान्वयनबारे प्रतिक्रिया दिँदै सम्झौतामा के लेखिएको छ भन्ने कुरा आफूले फेरि हेर्नुपर्ने बताए। “त्यो सम्झौतामा के लेखिएको छ मैले नै एकचोटि हेर्नुपर्छ, मलाई सबै कण्ठ छैन,” उनले भने। “यदि तपाईंले भनेजस्तो लेखिएको रहेछ भने त्यहीअनुसार हुन्छ।”
सम्झौता अक्षरशः कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले आफूले कुनै वाचा गर्नुपर्ने आवश्यकता नदेखिएको बताए। “पार्टी निर्माणको चरणमा छ। पार्टीबाट निर्वाचित भएर नेताहरू आउनुहुन्छ, वरिष्ठ नेता र सभापति हुनुहुन्छ, केन्द्रीय समिति छ। त्यहाँ छलफल हुन्छ, संसदीय दल बन्छ र त्यसले गर्ने निर्णय हामीले मान्नुपर्छ,” उनले भने।
यसैगरी प्रधानमन्त्रीका विषयमा सोधिएको प्रश्नमा सभापति रवि लामिछानेले पनि स्पष्ट धारणा नराख्दै गोलमटोल जवाफ दिएका थिए। संस्थापन पक्षका नेताहरूका अभिव्यक्तिका कारण पूर्वसहमति अनुसार बालेन प्रधानमन्त्री बन्ने विषयमा शंका गरिएको राजनीतिक वृत्तमा चर्चा छ।
चितवन–२ बाट अत्यधिक मतले विजयी भएका सभापति लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विभिन्न अदालतमा विचाराधीन रहेकाले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको पनि चर्चा भइरहेको छ।
तर पार्टीका केही नेताहरूले भने नेतृत्वका अभिव्यक्तिलाई सञ्चारमाध्यमले अनावश्यक रूपमा फरक ढंगले व्याख्या गरेको टिप्पणी गरेका छन्।
यता राजनीतिक वृत्तमा रास्वपाको विधानअनुसार पनि बालेन प्रधानमन्त्री बन्ने प्रक्रिया सहज नहुने तर्क गरिएको छ। रास्वपाको विधानको धारा ६६ को उपधारा ८ मा प्रतिनिधिसभा संसदीय दलको नेता छनोट गर्ने प्रक्रिया उल्लेख गरिएको छ।
विधानअनुसार संघीय निर्वाचनअघि पार्टीका तर्फबाट प्रत्यक्ष र समानुपातिकतर्फ छनोट भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारबीच प्रतिस्पर्धा गराई संसदीय दलको नेता चयन गरिने व्यवस्था छ।
यस प्रक्रियामा पार्टीका सबै साधारण सदस्यहरू मतदाता बन्ने र कुल सदर मतको ५० प्रतिशतभन्दा एक मत बढी प्राप्त गर्ने उम्मेदवार संसदीय दलको नेता बन्ने उल्लेख गरिएको छ। यदि कुनै उम्मेदवारले उक्त मत प्राप्त गर्न नसकेमा बढी मत ल्याउने उम्मेदवारहरूबीच पुनः प्रतिस्पर्धा गराइने व्यवस्था रहेको छ।