बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

डडेल्धुरामा कांग्रेसको ३४ वर्षे किल्ला भत्कियो, देउवामाथि आफ्नै उम्मेदवारविरुद्ध असहयोगको आरोप

बुधबार, फाल्गुन २७ २०८२

काठमाडाैं । डेल्धुरामा तीन दशकभन्दा बढी समयदेखि कायम रहेको नेपाली कांग्रेसको राजनीतिक पकड यसपटक भत्किएको छ। यस पटक निर्वाचनमा कांग्रेस पराजित हुनुका कारणमध्ये पार्टीकै शीर्ष नेता शेरबहादुर देउवामाथि असहयोग गरेको आरोप उठ्न थालेको छ।

विशेष महाधिवेशनबाट सभापति पदबाट हटाइएपछि देउवा स्वयं निर्वाचन मैदानमा उत्रन पाएनन्। २०४८ सालदेखि लगातार डडेल्धुराबाट चुनाव जित्दै आएका उनले यसपटक टिकट नपाएपछि कांग्रेसले युवा नेता नैनसिंह महरलाई उम्मेदवार बनाएको थियो। तर, देउवाले सार्वजनिक रूपमा महरको पक्षमा मत माग्ने कुनै अपिल नगरेको आरोप लगाइएको छ।

निर्वाचनको समयतिर देउवा सिंगापुर पुगेका थिए। कांग्रेस स्रोतका अनुसार उनले त्यहीँबाट केही मतदातासँग सम्पर्क गरी पार्टीभित्र आफूहरूमाथि भएको व्यवहारको “मतबाट जवाफ दिन” दबाब दिएको आरोप लागेको छ। देउवाको नाम प्रयोग गरेर भानु नामका एक व्यक्तिले पनि धेरै मतदातालाई फोन गरेको दाबी कांग्रेसका केही नेताहरूले गरेका छन्।

यसैबीच, डडेल्धुराबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. ताराप्रसाद जोशीले १९ हजार १३१ मत प्राप्त गर्दै विजय हासिल गरे। कांग्रेसका उम्मेदवार नैनसिंह महरले १२ हजार १२१ मत मात्र पाए। यो मत २०४८ सालपछि डडेल्धुरामा कांग्रेसले पाएको सबैभन्दा कम मत भएको बताइएको छ।

देउवाले २०४८ सालमा करिब २४ हजार ५ सय मतसहित पहिलो पटक डडेल्धुराबाट विजय हासिल गरेका थिए। त्यसपछि २०५१, २०५६, २०६४, २०७४ र २०७९ सालका निर्वाचनमा पनि उनले उल्लेखनीय मतसहित लगातार जित निकाल्दै आएका थिए। तर यस पटक उनी मैदानमा नउत्रिँदा मात्र होइन, पार्टीभित्रैबाट सहयोग नपाउँदा कांग्रेसको मत पनि उल्लेखनीय रूपमा घटेको आरोप लागिरहेको छ।

कांग्रेसका एक स्थानीय नेताका अनुसार सिंगापुरबाट गरिएका फोनहरूले मात्रै करिब चार हजार मत प्रभावित भएको अनुमान गरिएको छ। यस विषयमा छानबिन हुनुपर्ने उनीहरूको माग छ।

देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकामा पनि यस पटक कांग्रेस कमजोर देखियो। गन्यापधुरा–१, जुन देउवाकै वडा हो, त्यहाँ कांग्रेसले ३२३ मत मात्र पाउँदा रास्वपाले ६२१ मत प्राप्त गरेको छ। गन्यापधुरा–५ मा पनि कांग्रेस ३३४ मतमा सीमित हुँदा रास्वपाले ३९४ मत पाएको छ।

यता, नेकपाका कार्यकर्ताले समेत स्वतन्त्र उम्मेदवार डा. जोशीलाई मत दिएको दाबी गरिएको छ। अजयमेरु–४ मा नेकपाले १८७ मत पाउँदा रास्वपाले ३९१ मत ल्याएको तथ्यांक सार्वजनिक भएको छ।

नेकपा उम्मेदवार मानसिंह मालका अनुसार पार्टीकै केही कार्यकर्ताले समेत आफ्ना उम्मेदवारलाई मत नदिई रास्वपालाई साथ दिएका थिए।

यसबीच, कांग्रेस जिल्ला कार्यसमितिले पार्टी पराजयको कारणबारे छानबिन सुरु गरेको छ। वडास्तरसम्म परिपत्र जारी गर्दै अन्तरघातको विषयमा जानकारी संकलन गर्ने काम भइरहेको बताइएको छ।