काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल एक्स (ट्विटर) र फेसबुकमार्फत जानकारी दिँदै प्रधानमन्त्री मोदीले नेपालमा हालै सम्पन्न संसदीय निर्वाचनमा रास्वपाले हासिल गरेको ऐतिहासिक सफलताका लागि दुवै नेतालाई बधाई दिएको उल्लेख गरेका छन् ।
मोदीले लेखेका छन् “रास्वपा अध्यक्ष श्री रवि लामिछाने तथा वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग आत्मीय टेलिफोन संवाद भयो। दुवै नेतालाई निर्वाचनमा हासिल गरेको व्यक्तिगत सफलता तथा रास्वपाको सफलताका लागि बधाई ज्ञापन गरेको छु।”
उनले आगामी नयाँ सरकार गठनका लागि शुभकामना व्यक्त गर्दै भारत सरकार नेपालसँगको पारस्परिक समृद्धि, प्रगति तथा नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको पनि बताए ।
मोदीले संयुक्त प्रयासबाट भारत–नेपाल सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा समेत व्यक्त गरेका छन् ।
नेपालको हालै सम्पन्न निर्वाचनमा रास्वपाले बहुमत हासिल गर्दै नयाँ सरकार गठनको नेतृत्व लिने सम्भावना बढिरहेको सन्दर्भमा मोदीले पहिलो अन्तर्राष्ट्रिय नेताका रूपमा लामिछाने र शाहलाई बधाई दिँदै भारतको सहकार्यको प्रतिबद्धता व्यक्त गरेका हुन् ।