चितवन । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन जिल्लामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारसहित ५७ जनाको जमानत जफत भएको छ। जिल्लाका तीनै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूले आवश्यक मत प्राप्त गर्न नसकेपछि जमानत जफत भएको हो।
जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार चितवन–१ मा १५ जना तथा चितवन–२ र चितवन–३ मा २१–२१ जनाको जमानत जफत भएको छ। कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार आफ्नो निर्वाचन क्षेत्रमा खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ।
उहाँका अनुसार चितवन–१ मा १८ जना तथा चितवन–२ र ३ मा २३–२३ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका थिए। चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कांग्रेस र एमालेका उम्मेदवारबाहेक अन्य सबैको जमानत जफत भएको छ। सो क्षेत्रमा ९६ हजार १५४ मत खसेकोमा ९१ हजार ८९९ मत सदर भएको थियो।
चितवन–२ मा रास्वपा र कांग्रेसका उम्मेदवारबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ। उक्त क्षेत्रमा ८७ हजार २२१ मत खसेकोमा ८४ हजार २३२ मत सदर भएको थियो।
त्यस्तै चितवन–३ मा रास्वपा र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारबाहेक अन्य दल तथा स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ। सो क्षेत्रमा एक लाख ५३ मत खसेको थियो।
समग्र जिल्लामा दुई लाख ८३ हजार ४२८ मत खसेको जानकारी दिइएको छ। यसैबीच जिल्लामा समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको छ। चितवन–२ र ३ मा समानुपातिक मतगणना सम्पन्न भइसकेको छ भने चितवन–१ मा अन्तिम चरणमा पुगेको सूचना अधिकारी श्रेष्ठले बताए ।