गण्डकी । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले कुनै पनि निर्वाचन क्षेत्रमा विजय हासिल गर्न सकेनन्। यससँगै गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ।
विसं २०७९ को निर्वाचनमा एमालेले पाँच र नेकपाले दुई क्षेत्र जितेका थिए। अघिल्लो निर्वाचनमा १० सिट जितेको नेपाली कांग्रेस यसपटक भने गण्डकीमा दुई सिटमा सीमित भएको छ। त्यस्तै, २०७९ मा राष्ट्रिय जनमोर्चाले जितेको बागलुङ–१ मा यसपटक सो दलका उम्मेदवारको जमानतसमेत जफत भएको छ।
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ क्षेत्रमा जित हासिल गर्दै बलियो उपस्थिति देखाएको छ।
म्याग्दी, मुस्ताङ र मनाङ बाहेकका सबै जिल्लामा रास्वपाका उम्मेदवार विजयी बने। म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भए।
त्यसैगरी मुस्ताङबाट कांग्रेसका योगेश गौचन थकाली र मनाङबाट कांग्रेसकै टेकबहादुर गुरुङ प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
प्रदेश राजधानी रहेको कास्कीका तीनै क्षेत्रमा रास्वपाले जित निकालेको छ। कास्की–१ बाट खड्कराज पौडेल, कास्की–२ बाट उत्तमप्रसाद पौडेल र कास्की–३ बाट बिना गुरुङ विजयी बने।
बागलुङका दुवै क्षेत्रमा रास्वपाले सफलता पाएको छ। बागलुङ–१ मा सुशील खड्का र बागलुङ–२ मा सोम शर्मा विजयी भए।
त्यस्तै स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपाले जित हासिल गरेको छ। स्याङ्जा–१ बाट धनञ्जय रेग्मी र स्याङ्जा–२ बाट झविलाल डुम्रे निर्वाचित भए।
तनहुँका दुवै क्षेत्रमा पनि रास्वपा विजयी बन्यो। तनहुँ–१ मा स्वर्णिम वाग्ले र तनहुँ–२ मा श्रीराम न्यौपाने निर्वाचित भए।
त्यसैगरी नवलपुर–१ बाट राजन गौतम र नवलपुर–२ बाट मनिष खनाल विजयी बने। लमजुङमा धर्मराज केसी र पर्वतमा सागर भुसाल निर्वाचित भए।
गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित निकालेको छ। गोरखा–१ मा सुदन गुरुङ र गोरखा–२ मा कविन्द्र बुर्लाकोटी विजयी भएका छन्।
यस परिणामसँगै गण्डकी प्रदेशमा रास्वपाको प्रभावशाली उपस्थिती देखिएको छ भने परम्परागत ठूला दलहरू कमजोर बनेका छन्।