बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

प्रत्यक्षतर्फ रास्वपाको दबदबा, १६५ क्षेत्रको परिणाम सार्वजनिक

मंगलबार, फाल्गुन २६ २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक गरेको छ।

सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो। उक्त क्षेत्रमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पालाई पराजित गर्दै विजय हासिल गरेका छन्।

यता उम्मेदवारी खारेज भएपछि विवादमा परेको धनुषा–१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवलाई विजयी घोषणा गर्दै प्रमाणपत्र प्रदान गरेको छ। उम्मेदवारी खारेजको विषयलाई लिएर रास्वपाका उम्मेदवार भने अदालत पुगेका छन्।

प्रत्यक्षतर्फको परिणाम अनुसार रास्वपाले सबैभन्दा धेरै १२५ सिट जित्दै स्पष्ट अग्रता कायम गरेको छ। त्यसपछि नेपाली कांग्रेसले १८ सिट, एमालेले ९ सिट, नेकपाले ८ सिट, श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन्।

यसैबीच म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

२७५ सदस्यीय प्रतिनिधिसभाका लागि फागुन २१ गते देशभर मतदान भएको थियो।

समानुपातिकतर्फ हालसम्म करिब एक करोड मत गणना भइसकेको छ। प्रारम्भिक नतिजाअनुसार समानुपातिकतर्फ पनि रास्वपाले झण्डै आधा मत प्राप्त गर्ने देखिएको छ।

समानुपातिक प्रणालीअन्तर्गत रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले ३ प्रतिशतको थ्रेसहोल्ड पूरा गरेका छन्।