बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

निर्वाचनको पूर्वसन्ध्यामा आवश्यक बैंकिङ सेवा

बुधबार, फाल्गुन २० २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको आमनिर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा निर्वाचनसँग सम्बन्धित वित्तीय तथा प्रशासनिक काममा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले आवश्यक व्यवस्था मिलाइएको जनाइएको छ।

निर्वाचन आयोगले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखाहरूलाई नियमित रूपमा सञ्चालनमा राख्ने प्रबन्ध गरिएको जानकारी दिएको हो। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई लक्षित गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा घोषणा गरिसकेको छ।

फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण वित्तीय सेवा प्रभावित नहोस् भन्ने हेतुले आयोगको निर्णय र अनुरोधअनुसार महालेखा नियन्त्रक कार्यालय मार्फत राजस्व दाखिलाको व्यवस्था मिलाइएको बताइएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचनसम्बन्धी भुक्तानी निकासा, राजस्व दाखिला लगायतका सेवा निरन्तर सञ्चालनमा राखिएको छ। यसका लागि आवश्यक प्राविधिक जनशक्ति परिचालन गरी प्रणाली निर्वाध चल्ने सुनिश्चित गरिएको आयोगले स्पष्ट पारेको छ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंकहरू तथा राजनीतिक दल र उम्मेदवारका निर्वाचन प्रचारप्रसारका लागि खोलिएका बैंक खातामार्फत रकम दाखिला र भुक्तानी सेवा उपलब्ध गराउन आवश्यक समन्वय गरेको जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदान हुने दिन वित्तीय तथा बैंकिङ सेवा सञ्चालन नहुनेछ। तर भोलिपल्ट फागुन २२ गतेदेखि ती सेवा पूर्ववत् सञ्चालनमा आउनेछ।