काठमाडाैं । आईसीसी टी–२० विश्वकपअन्तर्गत आज तीन महत्वपूर्ण खेल आयोजना हुँदैछन्।
पहिलो खेलमा समूह ‘बी’ अन्तर्गत आयरल्याण्ड र ओमानबीच प्रतिस्पर्धा हुनेछ। खेल श्रीलंकाको कोलम्बोमा बिहान सवा ११ बजे सुरु हुनेछ। दुवै टोली प्रतियोगितामा पहिलो जित हात पार्ने लक्ष्यका साथ मैदान उत्रिँदैछन्। यसअघि खेलेका दुई–दुई खेलमा दुवैले पराजय भोगेका कारण आजको खेल उनीहरूका लागि निर्णायक मानिएको छ।
दोस्रो खेल समूह ‘सी’ अन्तर्गत इंग्ल्याण्ड र स्कटल्याण्डबीच हुनेछ। यो खेल भारतको कोलकातास्थित इडेन गार्डेनमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा दुवै टोलीले दुई खेल खेल्दा एक–एक जित र एक–एक हार बेहोरेका छन्। त्यसैले समूह चरणमा मजबुत स्थिति बनाउन आजको खेल महत्वपूर्ण बन्नेछ।
तेस्रो तथा अन्तिम खेल समूह ‘डी’ का न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ। खेल अहमदाबादमा बेलुका सवा ७ बजे सुरु हुनेछ। दुवै टोलीले यसअघि खेलेका दुई खेलमा लगातार जित निकाल्दै समान चार अंक जोडेका छन्। आजको प्रतिस्पर्धाले समूह विजेताको टुंगो लगाउने सम्भावना रहेको छ।