बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

इंग्ल्याण्डसँग चार रनको हार, नेपालको साहसिक प्रदर्शनले जित्यो विश्वको ध्यान

सोमबार, माघ २६ २०८२

काठमाडौं ।  आइसिसी टी–२० विश्वकपमा दुई पटकको च्याम्पियन इंग्ल्याण्डविरुद्ध नेपालको झिनो हारले त्यही सम्भावनाको झल्को दिएको छ। भारतको मुम्बईस्थित वनखेडे स्टेडियममा आइतबार भएको खेलमा नेपाल चार रनले पराजित भए पनि साहसिक प्रदर्शनमार्फत विश्व क्रिकेटको ध्यान तान्न सफल भयो।

इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्रै बनाउन सक्यो। अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक रहँदा सेट ब्याटर लोकेश बम क्रिजमा थिए। तर, अन्तिम ओभरमा नेपालले पाँच रन मात्रै जोड्न सकेपछि जित हातबाट फुत्कियो। २० बलमा ३९ रन बनाउँदै लोकेशले चार चौका र चार छक्का प्रहार गरे पनि टोलीलाई जित दिलाउन भने सकेनन्।

१८५ रनको लक्ष्य चुनौतीपूर्ण भए पनि असम्भव थिएन। ओपनर कुशल भुर्तेलले १७ बलमा २९ रन बनाउँदै आक्रामक सुरुआत दिलाए। तर, आसिफ शेख र कुशल आउट भएपछि नेपाल ४२–२ को अवस्थामा पुगेको थियो। त्यसपछि कप्तान रोहितकुमार पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै खेललाई नेपालतर्फ मोडे। दीपेन्द्र ४४ र रोहित ३९ रनमा आउट भएपछि खेल फेरि रोमाञ्चक मोडमा पुगेको थियो।

इंग्ल्याण्डतर्फ लियम ड्वसनले दुई विकेट लिए भने जोफ्रा आर्चर, लुक वुड, विल ज्याक्स र साम करनले समान एक–एक विकेट लिए। खेलभर वनखेडे स्टेडियममा नेपाली समर्थकले बनाएको माहोल घरेलु मैदानझैँ देखिन्थ्यो। नेपाल र इंग्ल्याण्डबीचको यो पहिलो अन्तर्राष्ट्रिय टी–२० भेट थियो।

यसअघि टस हारेर पहिले बलिङ गरेको नेपालले इंग्ल्याण्डलाई सुरुमै दबाबमा राखेको थियो। डेब्यु खेल खेलिरहेका युवा स्पिनर शेर मल्लले पहिलो बलमै फिल साल्टलाई आउट गर्दै शानदार सुरुआत दिलाए। पावरप्लेमा इंग्ल्याण्ड ५७–३ मा सीमित रहँदा नेपाली बलिङ प्रभावशाली देखिएको थियो। तर, ज्याकब बेथेल (५५) र कप्तान ह्यारी ब्रुक (५३) को साझेदारीले इंग्ल्याण्डलाई १८४/७ को प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍यायो।

समूह ‘सी’ मा रहेको नेपालको यात्रा अझै बाँकी छ। नेपालले अब माघ २९ गते इटाली, फागुन ३ गते वेस्ट इण्डिज र फागुन ५ गते स्कटल्याण्डसँग खेल्नेछ। यी सबै खेल मुम्बईमै हुनेछन्।

यसैबीच, कप्तान रोहितकुमार पौडेलले सबैभन्दा बढी टी–२० विश्वकप खेल्ने नेपाली कप्तानको कीर्तिमान बनाएका छन्। उपकप्तान दीपेन्द्र सिंह ऐरीले इंग्ल्याण्डविरुद्ध ४४ रन बनाउँदै टी–२० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्। त्यस्तै, डेब्यु खेलमै पहिलो बलमा विकेट लिँदै शेर मल्लले ‘ड्रिम डेब्यु’ गरेका छन्।

खेलपछि इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकले नेपाली टिमको खुलेर प्रशंसा गर्दै नेपालले निकै राम्रो क्रिकेट खेलेको प्रतिक्रिया दिए। उता, कप्तान रोहित पौडेलले हारबाट निराश भए पनि टिमको प्रदर्शनप्रति गर्व रहेको बताए। “हामी यहाँ केवल सहभागिता जनाउन आएका होइनौँ, हाम्रो शैलीको क्रिकेट खेलेमा जुनसुकै टोलीलाई हराउन सक्छौँ,” उनले भने।

इंग्ल्याण्डविरुद्धको यो प्रदर्शन हार भए पनि नेपाली क्रिकेटका लागि ठूलो आत्मविश्वास र सम्भावनाको संकेत बनेको छ।