काठमाडौं । सुनसरीको इटहरीमा उपचारका लागि आएकी एक महिलाको ज्वाइँले हत्या गरेको घटना सार्वजनिक भएको छ । भोजपुरको दिङ्लाबाट श्रीमानसहित उपचारका लागि इटहरी आएकी पबीमाया बयलकोटीको ज्वाइँ गणेश साह गुप्ताले हत्या गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आज सोमबार घर फर्किने तयारीमा रहेकी पबीमायाको आइतबार राति नै ज्वाइँले पानी तान्ने ट्युबेलको ह्यान्डलले टाउकामा प्रहार गरी हत्या गरेको पाइएको हो ।
प्रारम्भिक अनुसन्धानबाट छोरी र ज्वाइँबीच दिनहुँ झगडा हुने गरेको र सोही क्रममा ज्वाइँलाई सम्झाउन खोज्दा सासूमाथि आक्रमण भएको खुलेको प्रहरीले जनाएको छ ।
सासूको हत्या गरेको अभियोगमा ज्वाइँ गणेश साह गुप्तालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।