काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी हिजाे सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौँको कीर्तिपुर नगरपालिका–११ बस्ने ३८ वर्षीय विशाल कटुवाल रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यले उक्त जानकारी दिए ।
प्रवक्ता आचार्यका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई रोजगारीका लागि न्युजिल्यान्ड लैजाने भन्दै रकम असुली गरी सम्पर्कविहीन बनेको उजुरीका आधारमा कटुवाललाई पक्राउ गरिएको हो ।
कीर्तिपुरबाट पक्राउ परेका कटुवाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि हिजै वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।