काठमाडौं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबार गरेको आरोपमा ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालित क्यासिनो वाल्डोका मुख्य सञ्चालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार फरार अवस्थामा रहेका क्यासिनोका सञ्चालक ७५ वर्षीय चिनियाँ नागरिक च्यान मिन चिङलाई परिसरको टोलीले काठमाडौंबाटै नियन्त्रणमा लिएको हो।
उनी क्यासिनो वाल्डोका मुख्य सञ्चालक तथा लगानीकर्ता रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार क्यासिनो वाल्डोमा इभेन्ट नै आयोजना गरी तास खेलमा योजनाबद्ध रूपमा ठगी गरिएको थियो। खेलका क्रममा चिप्स जडित विशेष प्रकारको तास प्रयोग गर्ने, आँखामा विशेष लेन्स लगाएर तासको दुवै पाटा देखिने व्यवस्था मिलाइ ठगी गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसअघि सोही प्रकरणमा संलग्न रहेको आरोपमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे पक्राउ परिसकेका छन्। यस्तै, क्यासिनोका नेपाली सञ्चालक विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत डिसेम्बर ११ देखि १४ तारिखसम्म भारत र नेपालका विभिन्न समूह मिलेर उक्त क्यासिनोमा इभेन्ट आयोजना गरिएको थियो। महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गर्नुका साथै चिप जडित तास र विशेष लेन्सको जोहो गरेको प्रहरीको दाबी छ।