काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्ने उक्त जंगलमा भोजपुर अरुण गाउँपालिका–३ घर भई हाल ललितपुरको लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राई मृत भेटिएका हुन्।
ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार पारुहाङको हत्या गरी शव जंगलमा फालिएको अवस्थामा फेला परेको हो। आज बिहान भेटिएको शवको टाउकोमा चोट देखिएको र प्रारम्भिक अनुसन्धानबाट हत्या भएको पुष्टि भएको उहाँले जानकारी दिनुभयो।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल रहेका छन्। अर्का एक जना आरोपीको नाम भने अनुसन्धान प्रभावित नहोस् भन्दै प्रहरीले सार्वजनिक गरेको छैन।
पारुहाङ राईको शव पोस्टमार्टमका लागि भक्तपुरस्थित केएमसी अस्पतालमा राखिएको छ। घटनाको कारण र अन्य संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।