शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

शुक्रबार, पुष ४ २०८२

काठमाडौं । धनुषाको विदेह नगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ६० मिलिग्राम सहित सबैला नगरपालिका–२ बस्ने १९ वर्षीय राहुल ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरीको बराहक्षेत्र नगरपालिका–७ सोमबारेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९७ ट्याब्लेट र स्पास्पेन १ सय ९७ ट्याब्लेट सहित सोही नगरपालिका–७ पिपल गाछी बस्ने २१ वर्षीय प्रदिप थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

झापाको बुद्धशान्ति गाउँपालिका–३ डाँडागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय बबिन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय आशिष राई, ३८ वर्षीय कुसल प्रधान र ३७ वर्षीय पुर्ण बहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले आशिषको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–९ नरियाबारी बस्ने २४ वर्षीय राजु राजबंशी र २३ वर्षीय पारश गौरेपिप्ले रहेका छ्न् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ९० मिलिग्राम सहित सोही नगरपालिका–५ मन्त्रीबस्ती बस्ने २३ वर्षीय राजेन राजबंशीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहाको लहान नगरपालिका–२३ गढिया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२३ बस्ने ३६ वर्षीय बिजय कुमार साह र ३१ वर्षीय सुरेन्द्र कुमार दास रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

दाङको राप्ती गाउँपालिका–४ गोपिनालाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका–४ बुढिचौर बस्ने २५ वर्षीय भुपाल थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले रा.५ प ५६९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष दमाईलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।