काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४९ लाख १४ हजार ५०० रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका–५ घर भई हाल काठमाडौँ–३२ बस्ने ५४ वर्षीय पवित्रप्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ की ३३ वर्षीया बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई हाल काठमाडौँ गोकर्णेश्वर–५ बस्ने २५ वर्षीय साइरज सुवेदी रहेका छन्। उक्त जानकारी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक काजीकुमार आचार्यले दिए ।
प्रवक्ता आचार्यका अनुसार अधिकारीले अल्बानिया पठाइदिने भन्दै १९ लाख रुपैयाँ, विश्वकर्माले क्यानडा पठाउने बहानामा १९ लाख रुपैयाँ र सुवेदीले अमेरिका पठाइदिने भन्दै ११ लाख १४ हजार ५०० रुपैयाँ लिई विदेश नपठाई सम्पर्कविहीन भएका उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।