शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धि सार्वजनिक, निर्वाचनलक्षित सुरक्षा रणनीति पनि घोषणा

शुक्रबार, मंसिर २६ २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आइजीपी) राजु अर्यालले आफ्नो तीन वर्षे कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आइजीपी अर्यालले संगठनको स्वास्थ्य सेवा, संरचनागत विकास, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनमा महत्वपूर्ण प्रगति भएको बताए।

तीन वर्षे कार्यकालका प्रमुख उपलब्धि

उनका अनुसार देशभरका सबै सशस्त्र प्रहरी युनिटहरूमा नेपाल एपीएफ अस्पतालका चिकित्सक खटाई ६÷६ महिनामा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था सुरु गरिएको छ।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले कल्याणकारी सेवा केन्द्रमार्फत १० लाख रुपैयाँसम्मको आवास कर्जा उपलब्ध गराइने व्यवस्था लागू गरिएको तथा हालसम्म ७६ जना कर्मचारी लाभान्वित भएको जानकारी दिए।

थापाका अनुसार संगठनका सबै इकाइका लागि आदर्श वाक्य (मोटो) निर्माण गरिएको छ।

यसैगरी विष्फोटक पदार्थ भण्डारणका लागि तीन स्थानमा बंकर निर्माण, रेलवे, टनेल तथा बोटहरूको सुरक्षा अध्ययन, र युनिट कमाण्डका लागि कार्यान्वयनयोग्य ‘एक्शन प्लान’ निर्माण तथा कार्यान्वयनको सुरुआत पनि गरिएको छ।

विपद् व्यवस्थापनमा उल्लेखनीय प्रगति

सशस्त्र प्रहरीले विपद् व्यवस्थापन र आकस्मिक उद्धार क्षमतामा महत्वपूर्ण सुधार गरेको जानकारी दिइयो। राष्ट्रिय सडक सुरक्षा परिषद्सँगको समन्वयमा पोस्ट–क्र्यास रेस्पोन्स एण्ड केयर सेवा सुरु गर्न एमओयू गरिएको छ।

दुर्घटना पछिको तुरुन्त उपचारका लागि सम्बन्धित निकायका कर्मचारीलाई मेडिकल फर्स्ट रेस्पोन्स तालिम दिइएको छ।

गत आर्थिक वर्षमा ३७ स्थानीय तहमा विपद् स्वयंसेवक तालिम सञ्चालन गर्दै ९९० जना प्रशिक्षित स्वयंसेवक तयार गरिएको पनि थापाले उल्लेख गरे।

उनका अनुसार सीमा सुरक्षा, निर्माण कार्य, स्वास्थ्य शिविर सञ्चालन लगायतका महत्वपूर्ण कामहरू आइजीपी अर्यालको कार्यकालमा सम्पन्न भएका छन्।