काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तीन जना पक्राउ परेका छन्।
काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका ती व्यक्तिहरूको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन कुमार भट्टाराईका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।
यसअघि अख्तियार प्रमुख राईसहित १० जना विशिष्ट व्यक्तिलाई ज्यान सुरक्षा जोखिम देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई विशेष सुरक्षा दिन परिपत्र गरेको थियो।
सुरक्षा सूचीमा आयोगका पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का, पूर्वगृहमन्त्री रमेश लेखक र बालकृष्ण खाँणसहित् अन्य उच्च व्यक्तिहरू छन्।
यस्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं, पूर्वआईजीपी ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी, तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि विशेष सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ।