बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

झापामा राष्ट्रियस्तरको खुला महिला भलिबल प्रतियोगिता शुरू

बुधबार, मंसिर १७ २०८२

झापा । जिल्लामै पहिलोपटक अर्जुनधारामा आजदेखि राष्ट्रियस्तरको खुला महिला भलिबल प्रतियोगिता सुरु भएको छ। अर्जुनधारा नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा तथा लक्ष्मी माध्यमिक विद्यालयको सहआयोजनामा प्रतियोगिता मंसिर २१ गतेसम्म चल्नेछ।

प्रतियोगिताका लागि अर्जुनधारा–६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा आवश्यक मर्मत तथा स्तरोन्नति गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर राईले बताए। म्याटको अभावमा मैदानलाई स्तरोन्नत गरिएको र करिब एक हजार दर्शक क्षमताको बाँसबाट बनेको अस्थायी प्यारापिट निर्माण गरिएको उनले जानकारी दिए।

आजको उद्घाटन दिन पहिलो खेल नेपाल एपिएफ क्लब र एभरेस्ट लुम्बिनी क्लबबीच तथा दोस्रो खेल न्यू डायमण्ड क्लब र कोशी प्रदेश भलिबल टिमबीच हुँदैछ।

मंसिर १८ गते पहिलो खेल नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच तथा दोस्रो खेल न्यू डायमण्ड क्लब र नेपाल पुलिस क्लबबीच हुने कार्यक्रम छ। मंसिर १९ गते एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लब पहिलो खेलमा भिड्नेछन् भने दोस्रो खेलमा कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा सहभागी छ टिमलाई दुई समूहमा विभाजन गरिएको छ।