बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

त्रिदेशीय महिला फुटबलमा आज नेपाल–चिनियाँ ताइपेइ भिडन्त

मंगलबार, मंसिर १६ २०८२

इन्डोनेसिया  । यहाँ जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपालले चिनियाँ ताइपेइसँग प्रतिस्पर्धा गर्न लागेको छ। खेल स्थानीय समयअनुसार साँझ ७ः३० बजे सुरु हुनेछ।

फिफा वरियतामा ४२औँ स्थानमा रहेको चिनियाँ ताइपेइलाई नेपाल (८९औँ स्थान) भन्दा बलियो टोली मानिन्छ। अन्तर्राष्ट्रिय फुटबलमा समृद्ध इतिहास बोकेको चिनियाँ ताइपेइले सन् १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कप उपाधि जितेको थियो।

उता नेपाल सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै आएको छ। एसियन कपमा सहभागिता जनाए पनि समूह चरणमै यात्रा टुंगिएको इतिहास छ।

नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले चिनियाँ ताइपेइ चुनौतीपूर्ण प्रतिस्पर्धी भए पनि सुधारिएको प्रदर्शनमार्फत जितको लक्ष्य राखेको बताए। अघिल्लो खेलमा फिनिसिङ कमजोर देखिए पनि आजको खेलमा उत्कृष्ट खेल्ने विश्वास व्यक्त गर्दै उनले भने— “राम्रो संगठनमा खेल्न सके चाइनिज ताइपेइलाई हराएर सकारात्मक समापन गर्नेछौँ।”

साफ च्याम्पियनसिप तयारीकै क्रममा रहेको नेपाली टोलीले ‘इन्जुड’ खेलाडीलाई आराम दिँदै नयाँ खेलाडीलाई मौका दिने तयारी गरेको प्रशिक्षक न्यौपानेले जानकारी दिए।

त्यसैगरी, कप्तान एन्जिला तुम्बापो सुब्बाले टोली मानसिक र शारीरिक रूपमा पूर्ण तयार रहेको बताइन्— “हामी मैदानमा शतप्रतिशत दिनेछौँ।”

यस सिरिजअन्तर्गत नेपाल इन्डोनेसियासँग पहिलो खेलमा २–१ गोलले पराजित भएको थियो। चिनियाँ ताइपेइ भने इन्डोनेसियामाथि ५–० को सशक्त जितसहित उत्कृष्ट लयमा रहेको छ।