काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई महत्त्वपूर्ण खेल हुँदैछन्।
बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्। लगातार चार खेलमा पराजित भई तालिकाको पुछारमा पुगेको जनकपुरका लागि आजको खेल प्लेअफ आशा जोगाइराख्ने ‘डु वा डाइ’ जस्तै हुनेछ। यसैबीच चारमध्ये दुई खेल जितिसकेको चितवन राइनोज भने जित निकाल्दै आफ्नो प्लेअफ सम्भावना अझ बलियो बनाउने लक्ष्यमा छ।
अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्नेछन्। चार खेलमध्ये एकमा मात्र जित निकाल्न सफल पोखराका लागि आजको खेल प्लेअफ प्रवेशको बाटो सहज बनाउन निर्णायक हुनेछ। उता कर्णाली याक्सका लागि पनि प्लेअफ दौडमा टिक्न जित अपरिहार्य छ।
एनपिएलको समूह चरण अन्तिमतिर अघि बढ्दै गर्दा दुवै खेलले प्रतियोगिताको प्लेअफ समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।