काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज पनि चार टोली मैदान उत्रिँदै छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दुई महत्वपूर्ण भिडन्त हुनेछन्।
पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाज बीच हुनेछ। चितवन चार अङ्कसहित अङ्क तालिकाको तेस्रो स्थानमा छ, जबकि काठमाडौँले अहिलेसम्म दुई अङ्क मात्र जोडेको छ।
दोस्रो खेल अपराह्न ४:०० बजे कर्णाली याक्स र विराटनगर किङ्स बीच हुनेछ। तीन खेलबाट दुई अङ्क ल्याएको कर्णालीका लागि प्लेअफ सम्भावना जिवन्त राख्न आजको खेल अनिवार्य जितको दबाब छ।
अर्कोतर्फ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क बटुलेको छ। आजको खेल जितेमा उसको प्लेअफ यात्रा झनै सहज हुनेछ।