काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज (सोमबार) दुई महत्वपूर्ण खेल हुँदैछन्।
बिहान ११:४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्स भिड्ने छन्। दोस्रो खेल दिउँसो ४ बजे सुरु हुनेछ, जसमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्नेछन्। दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
दुई–दुई खेल खेलेका सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स चार–चार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। तीन खेल खेलेको काठमाडौं दुई अंकसहित तेस्रो स्थानमा रहेको छ। लुम्बिनी, चितवन र कर्णालीले पनि दुई–दुई अंक जोडेका छन्। जनकपुर र पोखरा भने अहिले पनि अंकविहीन छन्। जनकपुरले एक मात्र खेल खेलेको छ भने पोखराले खेलेका दुवै खेल गुमाइसकेको छ।
एनपीएलको दोस्रो सिजन मंसिर १ देखि सुरु भई २७ गतेसम्म चल्नेछ। सबै खेल कीर्तिपुरमै दिउँसो र राति गरी खेलाइँदै छन्। नेपाल क्रिकेट संघ (क्यान)ले हरेक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ। प्रतियोगितामा लिग चरण, तीन प्लेअफ र एक फाइनलसहित कुल ३२ खेल समावेश छन्।
टिकट दरमध्ये शनिबारका खेलका लागि साधारणतर्फ ५०० र प्रिमियमतर्फ १५०० रुपैयाँ तोकिएको छ। अन्य दिन हुने लिग चरणका खेलका लागि टिकट मूल्य क्रमशः ५०० र १००० रुपैयाँ रहेको छ। प्लेअफपछिका खेलका टिकट मूल्य सामान्यतर्फ १००० र प्रिमियमतर्फ २००० रुपैयाँ निर्धारण गरिएको छ।