शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनपीएल : आज चार टोली चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किङ्स र पोखरा एभेन्जर्स आमनेसामने

मंगलबार, मंसिर २ २०८२

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोचक खेल हुँदैछन्।

बिहान ११:४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् भने दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। चारै टोलीको लक्ष्य प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्नु नै रहनेछ।

चितवनको कप्तानी कुशल मल्लले सम्हाल्नेछन् भने कर्णाली याक्सको नेतृत्व सोमपाल कामीले गर्नेछन्। विराटनगर किङ्ग्सलाई सन्दीप लामिछानेले अघि बढाउनेछन् भने पोखरा एभेन्जर्सको कप्तानी कुशल भुर्तेलले गर्नेछन्।

यसअघि सोमबार सम्पन्न उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै राम्रो सुरुआत गरिसकेको छ। जितसँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क जोडिसकेको छ।

उद्घाटन खेलमा काठमाडौँका बेन चार्ल्सवर्थले आक्रमक ब्याटिङ प्रदर्शन गर्दै २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोडे। आकाश त्रिपाठीले ३९ रन बनाए। जनकपुरका किशोर महतो, ललितनारायण राजवंशी, जोन लोफ्टी–इटन र सञ्जय कृष्णमुर्तिले एक–एक विकेट लिए।

पहिला ब्याटिङ गरेका जनकपुरले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रनको योगफल बनाएको थियो। ओपनर आसिफ शेखले ४१ बलमा ६ चौका र १ छक्कासहित उत्कृष्ट ५४ रन बनाए। मयन यादवले उपयोगी रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याएका थिए।

बलिङतर्फ काठमाडौँका मिलिन्दा कुमार चम्किए। उनले ४ ओभरमा १५ रन खर्चिँदै ३ विकेट झारे। शहाब आलम र सन्तोष यादवले एक–एक विकेट जोडे।

नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित यो प्रतियोगिता मंसिर १ देखि सुरु भएको हो। फाइनल खेल मंसिर २७ मा हुने कार्यक्रम छ। विजेता टोलीले रु १ करोड १० लाख प्राप्त गर्ने क्यानले जनाएको छ।