शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जेनजी आन्दोलनमा प्रहरीकाे हतियार लुटपाट गर्ने दुई जना पक्राउ

सोमबार, मंसिर १ २०८२

गण्डकी । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कास्कीका विभिन्न प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हातहतियार लुटपाट गरिएको घटनामा संलग्न व्यक्तिहरूमध्ये थप दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कास्की प्रहरीले विशेष खोजतलास तथा अनुसन्धानको क्रममा उनीहरूलाई लुटिएका हतियारसहित पक्राउ गरेको जनाएको छ।

प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेकामध्ये पोखरा महानगरपालिका–५ जिरो किमीका ३१ वर्षीय श्यामबहादुर तमाङ र पोखरा–२ का २२ वर्षीय सागर राउत छन्। उनीहरूको साथबाट एक राउन्ड गोली, बोल्ट र ट्रिगर जोडिएको एक थान, काठको बटको भाग एक थान तथा दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

दुवै जनालाई पक्राउ गरी हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी बस्नेतले बताए।