काठमाडौँ । न्युजिल्यान्डका चर्चित अलराउन्डर जिमी निशम आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सबाट खेलने भएका छन्। अघिल्लो सिजन जनकपुर बोल्ट्सका तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका निशमले यसपटक टिम परिवर्तन गर्दै पोखरालाई प्रतिनिधित्व गर्नेछन्।
पहिलो संस्करणमा जनकपुर बोल्ट्सलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका निशमले बलिङ र ब्याटिङ दुवै विभागमा योगदान दिएका थिए। उनी जनकपुरको शीर्ष प्रदर्शनकर्तामध्ये एक मानिएका थिए, जसका कारण धेरैले उनी पुनः जनकपुरबाटै खेल्ने अपेक्षा गरेका थिए।
तर, जनकपुरले उनलाई रिटेन गर्ने इच्छा राखे पनि आईसीसीको नियमका कारण क्लबले निशमलाई दोहोर्याउन सकेन। त्यसपछि उनलाई पोखरा एभेन्जर्सले अनुबन्ध गरेको हो। निशमको उपस्थितिले एनपीएल सिजन–२ मा टेस्ट राष्ट्रका खेलाडीको संख्या थप वृद्धि भएको छ।
निशमको यो आगमनले प्रतियोगिताको प्रतिस्पर्धा र आकर्षण दुवै बढ्ने देखिएको छ।