काठमाडौँ । अतिरिक्त समयमा डिफेन्डर अनन्त तामाङले गरेको निर्णायक गोलले नेपाल बंगलादेशसँग हार हुनबाट जोगिएको छ। ढाकास्थित ढाका नेशनल स्टेडियममा भएको अन्तर्राष्ट्रिय मैत्री खेल २–२ को बराबरीमा टुंगिएको हो।
नेपालका लागि रोहित चन्द र अनन्त तामाङले एक–एक गोल गरे भने बंगलादेशका लागि दुवै गोल हाम्जा चौधरीले गरे।
खेलको २९ औँ मिनेटमा रोहित चन्दले गरेको उत्कृष्ट फिनिसिङसँगै नेपालले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो। यो रोहितको राष्ट्रिय टोलीबाट दोस्रो अन्तर्राष्ट्रिय गोल हो। तर दोस्रो हाफको सुरुआती क्षणमै खेल नेपालका लागि कठिन बन्यो।
दोस्रो हाफको पहिलो मिनेटमै हाम्जा चौधरीले बराबरी गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए। त्यसको पाँच मिनेटपछि डिबक्सभित्र सुमन श्रेष्ठले घरेलु खेलाडीलाई लडाएको आरोपमा बंगलादेशले पेनाल्टी पायो, जसलाई हाम्जाले सहजै गोलमा परिणत गर्दै टिमलाई २–१ को अग्रता दिलाए।
तर इन्जुरी समयको अन्त्यतिर अनन्त तामाङले महत्वपूर्ण गोल गर्दै खेललाई २–२ को बराबरीमा सम्टाए र टोलीलाई पराजयबाट जोगाए।
नेपाल अब एसियन कप छनोट खेल्न बंगलादेशमै आफ्नो अर्को यात्रा सुरु गर्नेछ।