बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

श्रीलंकालाई हराउँदै महिला दृष्टिविहीन टी–२० विश्वकपमा नेपालको विजयी सुरुवात

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले सानदार सुरुवात गरेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई नौ विकेटले हरायो । भारतको नयाँदिल्लीमा भएको खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रन बनायो । टोलीले अतिरिक्त रूपमा ४१ रन पनि पाएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले मात्र ५.२ ओभरमा एक विकेट गुमाएर लक्ष्य हासिल गर्‍यो । नेपालका लागि विनिता पुनले १३ रन बनाइन् । उनी पहिलो विकेटका रूपमा आउट भइन् तर नेपालले दुई ओभरमै ३२ रन बनाइसकेको थियो । नेपालको जितमा ओपनर मनकेशरी चौधरीको योगदान विशेष रह्यो । मनकेशरीले अविजित ६० रन बनाउँदै मात्र १७ बलमा अर्धशतक पूरा गरे ।

महिला दृष्टिविहीन टी–२० विश्वकपको यो पहिलो संस्करण हो । प्रतियोगिता पहिले भारत र नेपालमा आयोजना हुने तय भएको थियो तर जेन–जी प्रदर्शनपछि उत्पन्न असहज परिस्थितिका कारण नेपालमा हुने खेलहरू श्रीलंकामा सारिएको हो । प्रतियोगिता मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ । यसमा नेपालसहित भारत, अष्ट्रेलिया, अमेरिका, पाकिस्तान, श्रीलंका र इंग्ल्याण्डको सहभागिता छ ।

नेपालको आगामी खेल तालिका:
दोस्रो खेलः कात्तिक २८ गते भारतविरुद्ध, बेंगलुरु
तेस्रो खेलः कात्तिक २९ गते इंग्ल्याण्डविरुद्ध, बेंगलुरु
चौथो खेलः कात्तिक ३० गते अमेरिकाविरुद्ध, बेंगलुरु
पाँचौँ खेलः मंसिर २ गते अष्ट्रेलियाविरुद्ध, कोलम्बो
छैटौँ खेलः मंसिर ३ गते पाकिस्तानविरुद्ध, कोलम्बो