काठमाडौँ । नेपाल वायुसेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्ने प्रक्रिया सुरु गरेको छ ।
निगमका अनुसार, आन्तरिक उडानहरू घटेका र केही स्टेशनमा उडान सञ्चालन नहुँदा कर्मचारी व्यवस्थापन पुनःसंरचना गर्ने निर्णय गरिएको हो । यसअनुसार, हाल सञ्चालनमा रहेका आन्तरिक स्टेशनहरूको उडान सङ्ख्या र कार्य आवश्यकतालाई मूल्यांकन गरी करार तथा मासिक ज्यालादारीमा कार्यरत कर्मचारी कटौती थालिएको हो ।
निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार हालका लागि करार र मासिक ज्यालादारीमा कार्यरत छ जना कर्मचारीको सेवा अवधि आजको मितिदेखि अन्त्य गरिएको छ ।
प्रवक्ता घिमिरेले भने, “निगमलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन तथा बदलिँदो आर्थिक अवस्थालाई सम्बोधन गर्न यो सुधारात्मक कदम लिइएको हो । यसले निगमको आर्थिक दायित्व घटाउने र सञ्चालन क्षमता बढाउने उद्देश्य राखेको छ।”