काठमाडौं । रबर्ट लेवान्डोव्स्कीको शानदार ह्याट्रिकसँगै बार्सिलोनाले सेल्टा भिगोमाथि प्रभावशाली जित निकाल्दै शीर्षस्थानमा रहेको रियल मड्रिडसँगको अंक दूरी घटाउन सफल भएको छ ।
आइतबार राति भएको स्पेनी लिग (ला लिगा) अन्तर्गतको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–२ को नतिजाले पराजित गर्यो । यस जितपछि बार्सिलोना अब मड्रिडभन्दा तीन अंक मात्र पछाडि पुगेको छ ।
अर्को खेलमा रियल मड्रिड र रायो भालेकानोबीचको खेल गोलरहित बराबरीमा सकिएपछि मड्रिडले लगातार दोस्रो खेलमा कमजोर प्रदर्शन गरेको छ । यसअघि उसले लिभरपुलसँग च्याम्पियन्स लिगमा पराजय व्यहोरेको थियो ।
हाल बार्सिलोना ११ खेलबाट २३ अंकसहित दोस्रो स्थानमा रहँदा, शीर्ष स्थानको रियल मड्रिड २६ अंकमा कायम छ ।