बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

विश्वकप लिग–२ : नेपालकाे लगातार तेस्रो हार

आइतबार, कार्तिक १६ २०८२

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत दुबईस्थित आइसिसी एकेडेमीमा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भएको छ।

नेपालले जितका लागि दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा छ विकेट गुमाउँदै पूरा गर्‍यो। अमेरिकाका साइत्यजा मुकामल्लाले १०१ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ७५ रन बनाए भने मिलिन्द कुमारले ६६ बलमा ७० रनको योगदान दिए। त्यसैगरी साइन जाहाङिरले ३६, मोनाङ पटेलले २१, सुभम रन्जनले १९ र स्मित पटेलले १६ रन जोडे।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने गुलशन झा, करण केसी र नन्दन यादवले एक–एक विकेट हात पारे।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रनको योगफल तयार पारेको थियो। दीपेन्द्रसिंह ऐरीले ६७ बलमा दुई चौका र तीन छक्कासहित सर्वाधिक ७५ रन जोडे। करण केसीले ३१ बलमा दुई चौका र तीन छक्कासहित ४९ रनको योगदान दिए। कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रन बनाए।

अमेरिकाका बलर हर्मित सिंहले तीन विकेट लिए भने सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले दुई–दुई विकेट हात पारे। जसदीप सिंह र शुभम रन्जनले एक–एक विकेट लिए।

यो पराजयसँगै नेपालले जारी लिग–२ मा लगातार तेस्रो हार व्यहोरेको छ। यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनले र दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो।

लगातार तेस्रो जित निकालेको अमेरिकाले लिग–२ को अंकतालिकामा शीर्ष स्थान कायम राखेको छ। अमेरिकाले २३ खेलमा ३४ अंक जोडेको छ भने नेपाल १९ खेलमा १२ अंकसहित सातौँ स्थानमा रहेको छ।