काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा अमेरिकासँग भिड्दैछ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।
नेपालले यसअघि खेलिएका दुवै खेलमा हार बेहोरेको छ । पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले हार मान्नुपरेको थियो ।
लगातार हारपछि नेपालमाथि अबका खेलहरू जित्ने ठूलो दबाब छ । एकदिवसीय मान्यता (ODI status) जोगाउन र विश्वकप क्वालिफायर २०२७ मा स्थान बनाउने लक्ष्य पूरा गर्न नेपालका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण बनेको छ ।
हालसम्म नेपालले लिग–२ मा १२ अंक जोडेको छ, जुन शीर्ष चार टोलीको तुलनामा आधा मात्रै हो । अझै १८ खेल बाँकी रहेका नेपालले आगामी खेलहरूमा उत्कृष्ट प्रदर्शन नगरे दबाब झनै बढ्ने विश्लेषण गरिएको छ ।
गत चक्रमा सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वकप छनोटसम्म पुगेको नेपाली टोली यस पटक कमजोर सुरुवातले आलोचनाको सामना गरिरहेको छ । आजको खेलमा नेपालले अमेरिकासँगको पुनः सामना जित्दै आत्मविश्वास फर्काउने प्रयास गर्नेछ ।