बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

चाइनिज पेस्तोल र १२ राउण्ड गोलीसहित दुई युवा पक्राउ

बिहिबार, कार्तिक १३ २०८२

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुस्थित टोलीले अवैध हतियारसहित दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेकामध्ये एक जना नुवाकोट र अर्को काभ्रेपलाञ्चोकका रहेका छन्।

प्रहरीका अनुसार नुवाकोट लिखु गाउँपालिका–६ का २३ वर्षीय समिर श्रेष्ठ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–१० खोपासीका एलेक्स नेपालीलाई काठमाडौँ महानगरपालिका–१६ ढल्कू क्षेत्रबाट पक्राउ गरिएको हो। उनीहरू हाल क्रमशः नयाँबजार र ढल्कूमा बस्दै आएका थिए।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार विशेष सूचनाका आधारमा काठमाडौँको इचङ्गुनारायण मन्दिर क्षेत्रमा हतियार देखाई सर्वसाधारणमा आतंक फैलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाको साथबाट मोडेल ५४ कल ७.६२–२५ एमएम (सिरियल नम्बर ५०००००९८) पोलि टेक्नोलोजीज इंक, चीन लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको खाली म्याग्जिन एक थान र ३११–२३ लेखिएको १२ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै जनामाथि हातहतियार तथा खरखजना सम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँमा पठाइएको प्रवक्ता आचार्यले जानकारी दिए।