काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका थप १८ उद्योगको विद्युत् सेवा बन्द गरेको छ।
प्राधिकरणले शुक्रबार राति ती उद्योगहरूको लाइन काटेपछि हालसम्म बिजुली काटिएका उद्योगको संख्या २४ पुगेको छ।
यसअघि मंगलबार ६ उद्योगको बिजुली काटिएको थियो।
प्राधिकरणका अनुसार बिजुली काटिएका उद्योगहरूमा हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलबारी स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेस्ट रोलिङ, घराना फुड्स, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लास्ट, बुटवल सिमेन्ट, सोना मिनरल्स एन्ड आयल्स र निगाले सिमेन्ट रहेका छन्।
यसअघि प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्स का लाइन काटेको थियो।
उद्योगीहरूले अघिल्लो शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा पत्र बुझाउँदै प्राधिकरणको निर्णयप्रति असन्तुष्टि जनाएका थिए। उनीहरूले प्राधिकरणकै पुनरावलोकन समितिमा निवेदन विचाराधीन रहँदा नै सम्पूर्ण प्रक्रिया रद्द गरिएको भन्दै सो निर्णयको वैधानिकता प्रश्नवाचक रहेको बताएका छन्।