काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले आज इरानसँग मैत्रीपूर्ण फुटबल खेल्नेछ। भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ।
उज्बेकिस्तानमा सम्पन्न महिला एसियन कप छनोटपछि नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यस खेलका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेका प्रीति राई, सावित्रा भण्डारी (साम्बा), पूजा राई र एन्जिला तुम्बापो सुब्बा टोलीमा सामेल भएका छन्।
यो खेल नवनियुक्त प्रशिक्षक नबिन न्यौपानेको पहिलो नेतृत्वमा हुने हो। प्री-म्याच कन्फरेन्समा उनले टोली अट्याकिङ रणनीतिका साथ मैदानमा उत्रिने र नयाँ खेलाडीहरूको परीक्षण गर्ने बताएका छन्।
नेपाली टोलीले यसपछि असोज १० गते भारतसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ। त्यस्तै, कात्तिक १३ गते भारतसँग अर्को एक अनअफिसियल खेल पनि तय गरिएको छ।
फिफा वरियतामा भारत ६३औं, इरान ७०औं र नेपाल ८९औं स्थानमा रहेका छन्।