काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका ७३ वर्षीय पुजारी रामदुलार साहको गोली हानी हत्या गरिएको छ ।
शनिबार बिहान करिब २ बजे अज्ञात समूहले पुजारी साहलाई मन्दिरबाट सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरी हत्या गरेको परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन्।
साह मन्दिर परिसरमै कुटी बनाएर एक्लै बस्दै आएका थिए। घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेको प्रहरीले जनाएको छ।
शव परीक्षणका लागि पुजारी साहको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले बताएका छन्।
घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।